सुदूर गाउँबस्तीहरूमा
कवि ः उदय निरौला
प्रकाशक:-दिपक काफ्ले
सर्वाधिकार ः कविमा
संस्करण ः पहिलो, २०८९
आवरण कला ः रमेश पौडेल
मूल्य ः रु ५००÷–
मुद्रक ः
क्ष्क्द्यल्स्
प्रकाशकीय
नेपाली साहित्यमा २०३५–३६ देखि नै कलम चलाँउदै आउनुभएका उदय निरौला नामसालिङ इलाम, हाल भक्तपुर बस्नुहुन्छ । मैले कक्षामा क ख ग पढ्दा नै वहाँ कविता र निबन्ध लेख्नुहुन्थ्यो । कत्ति विचलित नभई निरन्तर लेखनमा सक्रिय वहाँका यसअघि नै पाँचवटा कविता सङ्ग्रह र एक संस्मरणात्मक निबन्ध सङ्ग्रह प्रकाशन भइसकेका छन् ।
वहाँका कविताहरू नेपालमा प्रकाशित हुने दैनिक पत्रिका गोरखापत्र, कान्तिपुर, नयाँ पत्रिका, राजधानी, समाचार पत्र, नागरिकलगायत धेरै पत्रिकाहरूमा२०४१/४२सालबाट नै हामी सुदूर पूर्व निवासीहरूले पनि पढ्न पाएको याद आउँछ । म गैर साहित्यिक एक व्यवसायी एवम् एक राजनीतितिर अघि बढिरहेको मान्छे भएर पनि यदाकदा साहित्य पढिन्छ नै । धेरै पुराना बिपि कोइराला, पारिजात, दौलत विक्रम बिष्ट यस्तै यता पूर्वी भेगका इन्द्रबहादुर राईका उपन्यासहरू हामी पढ्थ्यौँ । कविता पनि हरिभक्त कटुवाल, बैरागी काइँला, माधव घिमिरेहरूका पढ्थ्यौँ । पुस्तकालयमा भेटिएका पढिने हो यता पुस्तकालयको उति विकास भएको छैन अनि पुस्तक किनेर पढिहाल्ने पाठक पनि अलि कमै भेटिन्छ । यद्यपि पाएसम्म पढिने हो । साहित्यले राजनीतिलाई पनि बाटो देखाएको हुन्छ, सामाजिक संस्कार, देशका कला संस्कृतिलाई पनि मार्ग दर्शन गराएको हुन्छ तसर्थ नयाँ पुस्ताका सबैलाई हामीले साहित्य पढ्न उत्साहित गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
एउटा देशको परिचय त्यो देशको साहित्यले दर्शाएको हुन्छ अनि कला संस्कृति, इतिहास, भूगोल, सभ्यता, धर्मले पछिल्लो चरणमा परिचय दिन्छ । खासमा मेरो विचारमा देशका खास यी सबै परिचयलाई साहित्यले गहनरूपमा समेटेको हुन्छ । युरोपका करिब १६–१७ देशहरूको यात्रामा मैले त्यहाँका बौद्धिक मानिसहरू मेट्रोमा होस् वा अरू कुनै गाडीमा पुस्तक पढिरहेको देख्थेँ । सोधेमा यस इट इज नोभल, इट इज पोएट्री भन्दथे । उनीहरू खुब पढ्छन् यात्रामा पनि, यो हामी सबैले देख्न सक्छौँ गाडी, ट्रेनहरूमा नव पुस्ताकाले समेत रुचिपूर्वक पढेको देखिन्छ । हामीले पनि यो बानी बसाल्ने हो भने देश एउटा राम्रो संस्कार र समृद्धितर्फ अघि बढाउन, अनि राजनीति गर्ने मानिसले पनि विदेशी राजदूत, अफिसरलगायत अरू अरू मानिसहरूसँग कुरा गर्न बडी ल्याङ्ग्वेज मिलाउन सकिनेहुन्छ भन्ने पनि मेरो ठम्याइ छ ।
मैले बुझेको साहित्य व्यापक छ, एक मजदुर, एक किसान, एक शिक्षक, एक भरिया, एक प्रोफेसर, एक दार्शनिक, एक राजनीतिज्ञ, एक राजनीति गर्ने मान्छे, एक मासु पसले, एक बुद्धिजीवी, एक एलिट, एक पुरानो खानदानी, एक महाराज, एक कलाकार, एक नर्तकी, एक उभयलिङ्गी, एक पुरुष, एक महिला, एक घाँस काट्ने मान्छे, एक गाई चराउने मान्छे, एक भेडा गोठाला, एक ब्यापारी, एक उद्योगी, एक रुख, एक झार, खाने धान, मकै, कोदो, फापरलगायत एक पक्षी, हावापानी, पञ्चतत्व, सबै सबै र सबैका जीवनानुभूति चेतना, जड् भौतिक, आध्यात्मिक, राम्रो, नराम्रो, नकारात्मक, सकारात्मक यावत् घटना परिघटना, परिवर्तन, विकास, यी सबैलाई साहित्यले समेट्छ, सँगेट्छ र जोड्छ । तसर्थ साहित्य विराट, विशाल र व्यापक अनन्त आकाश, अनन्त समुद्र नै हो ।
एउटा कुनै उद्योगले उसको उत्पादनको ब्रोसियर निकाल्छ, एउटा कुनै ठुलो स्केलको ब्यापारीले उसको कामको कम्पनीको ब्रोसियर प्रकाशन गर्छ यी सब जानकारीमूलक दस्तावेजहरू साहित्य नै हुन् तसर्थ मैले बुझेको साहित्य कथा, कविता, निबन्ध, उपन्यास मात्र होइनन् भन्ने मलाई लाग्छ ।
निजानुभूतिदेखि सर्वजनानुभूतिसम्मका, समग्र राष्ट्रका हरेक क्रियाकलाप विकास निर्माण यी सबैका कथा, उपकथाहरू, इतिहासहरू साहित्य नै हुन् तसर्थ जनमानसमा यो कुरा बुझाउने प्रयत्न गरेमा अवश्य पनि साहित्यका पाठक बढ्नेछन् र एक साहित्यकारलाई कीर्ति प्रकाशनमा अफ्ठेरो पर्नेछैन जस्तो मलाई लाग्छ । यतिका पाठशालाहरू बोर्डिङहरू र कलेजहरू मुलुकमा छन् उनीहरूले प्रकाशित गर्ने ब्रोसियरहरू विज्ञापनहरू सबै साहित्य नै हुन् । विद्यार्थीहरूमा यो शिक्षा पनि शिक्षकहरूले दिन आवश्यक म देखिरहेछु ।
प्रसङ्ग कविको कविता सङ्ग्रह प्रकाशनको हो । प्रकाशित पुस्तक पक्कै स्तरीय छ । वहाँ विभिन्न पुरस्कारहरूबाट सम्मानित एक अब्बल र उच्चस्तरीय नेपालका स्थापित कवि हुनुहुन्छ । वहाँको यो पुस्तक प्रकाशन गर्न पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।
प्रकाशक
दिपक काफ्ले
मेची नगर नगरपालिका
सिर्जना नगर, इँटाभट्टा ।
यो कविता सङ्ग्रहमाथि
मैले २०५३ सालमा कोर्दै–मेट्दै नामक निबन्ध सङ्ग्रह पनि प्रकाशन गरेको थिएँ । त्यस्तै यात्रा संस्मरण एक र अन्य संस्मरणहरूको सङ्ग्रह एक समेत तैयार नै छ । जसको भाषा कवि गजलकार ललिजन रावल जसलाई म भाषाविद् समेत मान्दछु, वहाँले हेरिसकेर तयार छ, प्रकाशनको लागि । यद्यपि मलाई अति मन पर्ने विधा कविता नै भएको कारण यो “सुदूर गाउँबस्तीहरूमा” प्रकाशन गर्न नै प्राथमिकता दिएँ । मेरा अभिन्न मित्र विमल निभा जस्ता प्रखर कवि साझा प्रकाशनमा कार्यकारी महा प्रवन्धक हुनुहुन्थ्यो र पनि मैले साझा प्रकाशनलाई छाप्न आग्रह गरिनँ । ऐले त साझाको अवस्था नै नाजुक छ । प्रज्ञा प्रतिष्ठानमा पनि मैले ऐलेसम्म कुनै प्रकाशनका लागि मौनता नै साधेँ । पछिल्लो समयमा के हुनेछ त्यो त आगतलाई नै थाहा छ म जान्दिनँ ।
सबै कविता समेट्ने हो भने त चार–पाँच सङ्ग्रह नै पुग्लान् । तर यो सङ्ग्रह नेपाली साहित्यमा एउटा स्तरीय कृति हुनेछ भन्ने मैले ठानेको छु । त्यो मेरो विचार हो, समालोचकका आँखा पर्छन् पर्दैनन् त्यो म भन्न सक्दिनँ । यद्यपि मेरा पाठकहरूले पक्कै मन पराउनुहुनेछ, म सोचिरहेको छु ।
भूमिकाका लागि नेपाल मजदुर किसान पार्टीबाट माननीय सांसद श्री प्रेम सुवालले मेरो वचन राखिदिनुभएकोमा म वहाँप्रति आभार व्यक्त गर्दछु ।
यस्तै मेरा अभिन्न मित्र साहित्यकार ध्रुव मधिकर्मी मलाई सदैव प्रकाशनको लागि र लेख्नकालागि झकझक्याइरहनुहुन्छ । र समग्रमा नेपाली साहित्यको इतिहासदेखि वर्तमान पुस्तासमेतमा लेखनको जानकारी राख्ने वहाँको अध्ययनशील क्षमताको कारण मैले भूमिका लेख्नकालागि आग्रह गरेँ र नभन्दै वहाँले लेख्नुभएकोमा म धन्यवाद दिन चाहन्छु ।
यो सङ्ग्रहको प्रकाशन गर्न दिपक काफ्लेले सबै जिम्मेवारी लिइदिएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु । आवरणका लागि रमेश पौडेल र व्याकरणका निम्ति म अभिन्न मित्र ललिजन रावलप्रति कृतज्ञता व्यक्त गर्दछु ।
मैले लेखिरहँदा सदैव मलाई साथ दिने मेरी जीवन सङ्गिनी बिनिता, छोरी डा. उर्जा निरौला पराजुली र छोरा बिभास निरौलाको अभिन्न सहयोग त छँदै छ ।
सुदूर गाउँबस्तीहरूमा
संग्रहमा राख्नु पर्ने कविता
---------------
कविता
----------
युवा घाम झर्छ गाँऊ,बेँसी यो वशन्तमा
चर्कँदै झर्छ चिर् चिर्
आँखामा झुमिन्छ मिर् मिर्
पिपिरीको पातको गगल्सले
पनि पार्दैन चिसो
झर्छ कडा घाम
कान्छीको मयालु गाला पोल्दै
खटिरा उमार्दै।
उम्रदैन ब्याडमा विजन
उम्रन्छ खटिराहरू
अनि के दिनु कान्छीले पाखो खेतबाट शुभकामना
परदेश पसेकालाई
राजधानी छिरेकालाई
पट्ठो घाम चिलाई रहन्छ पसिना तुरुरु झारेर निधारमा
न वर्षा बर्षन्छ
न वशन्त फुलेर खस्छ
उराठ खेतका गराहरू
कान्छीलाई जिस्काउँछ बाँजो नकोटिएर।
छोडाउन सक्दिन कान्छी
बाँजो
मन अमीलो बन्छ
कान्छालाई आँशु बगाएर पठाइदिन्छे मरुभूमितिर
बोक्दैन आँशुकादाना किच्च परेको हुलाक
कर्मचारी भत्तासँगै निदाई बस्छन्
डाकवाला झर्दैन बेँसी।
रातभरि जून चुहिन्छ चिमबाट ओक्ष्यानमा
आँखा जिम्दै हुन्छ बिहान
गााई सुखा पराल कति चपाओस्
जिब्रो खुइलने गरी
पाखामा नूनढिकी पनि पलाएन
गायोले पनि पातमा खै तरुनी वसन्त खेलाएन।
पट्ठो युवा घाँम चर्किँदा
सिमल पनि फुल्न विर्षेको छ
कान्लाको तिहुन निगुरो पनि लजाएर नउठेको
कुथुर्के खरुकीसँगै खेलिबसेको
टाँकी मुन्टा सम्म छैन तिहुन
कोइरालो लाटोकोसेरो मात्र बोक्छ
र रातभर कुहु कुहु कराँउछ झर्को
मनैमन सँझन्छे कान्छी
कति बस्नु यो खोला गड्तिर
एसपाली रित्तै होलाजस्तो छ मङ्सिर ।
कान्छोको खवर त राम्रो छ भन्छ
तर खै बैँश घाममात्र बोक्छ
आँफू बैँश छिमल्न गार्हो परेको महशुष गर्छे कान्छी
छैन शुभकामना यो वशन्तमा कुनै फूल फुलेन
आलि रित्तै
डालि रित्तै
दिन भर चिल्छ घाम
व्यर्थ बिना उपजको काम।
कस्तो बैशाख बोलाँउछ यो चैत
न आरू फुल्यो
न वैंश हाँस्यो
टोलाँउछे पर पर पश्चिमी क्षितिज हरेर
घाम बासबस्ने प्रतीक्षा बोकेर कान्छी
माचबाट
मचानबाट।
पहेँलिएको परदेशी र पहेँलो घाम
––––––––––
चराहरूको चिरबिरसहितको बिहान
हिमालको घमाइलो सुनौलो बिहान
कहाँ लुक्छ परदेशमा देखिँदैन
कागको एकनास काँ–काँ मात्र सुनिन्छ ।
आँखाहरू परसम्म तन्कन्छन्
न त राराको गीत बज्छ
न त फोक्सुन्डोको नाद बज्छ
रुखा रुखा मैदानहरू तन्किएका छन्
बिनालक्ष्यको
बिनाउद्देश्यको
सुन्दर छैन मन
अनि लाग्दैन सुन्दर यहाँको बन
तैपनि परदेशिनु बाध्यताको यात्रा
उता देशमा सरकार छैन
भए त जाबो मजदुरीका लागि मरुभूमिको यो तातो हावा फेर्नुपर्ने थिएन
सोच्छ परदेशी !
देशमा हावा चिसो छ
तर सरकार छैन
सुन्दै छ ऊ अलिकति भएको सरकार पनि ढल्दै छ रे
सानै हावा थेग्न नसक्ने सरकारले के नागरिकको लागि केही गर्छ ?
बा आमाको पेट पुर्न धौधौ
बिहेबारी र प्रेमबारे के सोच्ने
एउटी मायालु छे
उसलाई पनि अर्कै प्रेमी खोज भन्नुपर्ला
यो मरुभूमिमा के झर्ला ?
खै के गर्ने ?
साथीहरूको हाल उस्तै
देशका शासकहरू गरिबको लागि आएको भन्थे
ती त सबै माटै बेच्ने पो परेछन्
हामीलाई त बेचे बेचे
अब बुढाखाढा पनि बेच्लान्
बा–आमा पनि भेटिँदैनन् होला
बालुवामाथि बसेर बालुवा टाँसिएको हात हेर्छ परदेशी
र पहेँंलो हुँदै गएको घाम
पहेँलो हुँदै गएको अनुहार–
पहेँंलो भएका निकोटिनग्रस्त हातले मुसार्छ
र बिस्तारै–बिस्तारै दस तलामाथिको खट चढ्छ
बिस्तारै–बिस्तारै
बिस्तारै–बिस्तारै ।
००
हेडसर र हेडमास्टरहरू
............................
उहिले उहिले
हाम्रा पालामा
हाम्रा हेडसर मान र सम्मान भन्दा माथि हुनुहुन्थ्यो
लोभमोहको डङ्गुर फोहरभन्दा अलिकति परै हुनुहुन्थ्यो
अलिकति मान्छे र अलिकति मान्छेभन्दा माथि उठेर
उहाँ स्कुलको घण्टी ठोक्दै
नानीहरू मात्र होइन
सिङ्गो युग नै ब्युँझाउनुहुन्थ्यो
सिङ्गै गाउँ नै उठाउनुहुन्थ्यो
उहाँ हेडसर थोरै र बढी गुरु हुनुहुन्थ्यो ।
हो, साँच्चीकै उहाँ बढ्ता चैं गुरु नै हुनुहुन्थ्यो ।
आफ्नो सबै थोक त्यागेर
भविष्य नै छाडेर
वर्तमानको लौरो टेक्दै टेक्दै
अरूको लागि उकालीमा फोक्सो
बजाउँदै बजाउँदै हावाको बच्छेबाजा ख्याँर् ख्याँर्
छाती फुलाउँदै फुलाउँदै
उकालिनुहुन्थ्यो
र आफूलाई ओरालेर अरूहरूलाई उकाल्न
आगतको चुचुरो बनिदिनुहुन्थ्यो ।
साँच्चीकै उहाँ हेडसर कम
र बढ्तै गुरु हुनुहुन्थ्यो ।
आफ्नी प्रियतमाका तमाम इच्छाहरूलाई जोगमाईमा
बगाएर
काखको प्रिय सन्तानलाई आमाको दूधमै छाडेर
आफ्नो मझेरीको पूर्ण सुख सयल र विलासलाई तिलाञ्जली दिएर
खाऊँ खाऊँ र लाऊँ लाऊँको बाईसे वयमा
अर्काको लोटा रुङ्दै रुङ्दै विगतमा सधैँं सधैँं
पाहुना बनेका
वर्तमानका बुढा कपाल दारी कपास बनेका वेदव्यास
वा विश्वामित्र अथवा द्रोणाचार्य
हाम्रा हेडसर
उहाँ सतोसत् धरोधर्म
हेडसर कम र बढ्ता गुरु नै हनुहुन्थ्यो
बढ्ता त धरोधर्म गुरु नै हुनुहुन्थ्यो ।
अहिले पनि हेडसरहरू छन्
तर हेडसर कम र बढ्ता कार्यकर्ता छन्
सज्जनको व्याकरणमा उनीहरू खामिएका छैनन्
दुष्ट वर्णविन्यासमा उनीहरू उखुम दरिएका छन्
अर्थात् गुरु कम र बढ्ता हेडमास्टर छन्
खसोखासमा उनीहरू हेडमास्टर नै हुन् ।
आजकल हेडमास्टरहरू तोङ्वा बेच्छन्
र स्कुलमा पनि पुग्ने गर्छन् ।
हाम्रा हेडसर वर्तमानमा युवालाई साटेर
समयसँगै कच्याककुच्चुक अनुहारमा देखिए पनि
सुकिलो पथमा सजिनुभएको छ
खास गरेर हाम्रा ऐनामा
उहाँ अहिले पनि हेडसर थोरै
र यद्यपि गुरु धेरै हुनुहुन्छ
यद्यपि गुरु बढ्तै हुनुहुन्छ ।
००
बुढी आमाहरूको साँझ
––––––––––––––––––––
पिरामिड जस्तो उभिएको अतीत
नदी जस्तै बगिरहेका आँसुहरू
निमोनियाँ पसेको बिना स्लाइनको मझेरी
बर्षे झरी
र गोधूलि टाँसिएका बुढी आमाहरूका निधार
अनि परेड खेलिरहेका भालुबाँसका झाङहरू ।
जुम्रा परेको घरको छानो
तप्प–तप्प बाफिएको अगेनो
थुप्रिएको डङ्गुर खरानी र अलिकति फर्सीको मुन्टा
घुनको म्याराथुन
र अलिकति मकै !
नाम्लोको चित्र कुँदिएको निधार
सिकुवामा किच्च पल्टिएको ढिकी
तरुनी बैँस भागेपछिको बसन्त
एक्ली बुढी आमाहरूको बुढ्यौली
आराम लिन नपाएका आमाहरूका फोक्सोहरू
ती हाम्रा सनातन आधुनिक गाउँहरू ।
थिए होलान् उम्दा लक्ष्यहरू
बैँसको हाँगामा बास बसेका बासी इच्छाहरू
सपना देखाउन आउने लाहुरेहरू
एकनास गोधूलिसँगै घुमिरहन्छन् साँझहरू
बुढ्यौली र एकाकी
पनि हुँदो रहेछ हगि !
युवती खोला सोच्दै झरिरहिछ
उही आमाहरूको घर–आँगनको बाटो
तल धेरै तल महासागरतिर ।
––––––––––––––
लेख्नै पर्ने कविता
........
लेख्नै पर्ने हो ती खुकुरी चलाउनेहरूका कथा
जसले बाँस र दाउरा मात्रै काटेनन्
सुगौली अघि नेपालका बैरी पनि गिँडे
मात्र नेपालको होइन बृटिसका शत्रु पनि गिँडे
अधम ! राष्ट्र भारतका शत्रु पनि गिँडे ।
आफ्नो माटोको प्रेममा लड्नु जायज थियोे
तर कसले लगायो ती वीरहरूलाई अर्काको खेताला
शासकहरू जो कोही होऊन्
अधम हुन्छन्
अहिलेका जस्तै ।
त्यो रारा र फोक्सुण्डो
त्यो कर्णालीको तीर र त्यहाँ फुल्ने फूलहरू
नेपाल एकीकरणताका जस्तो थियोे
अहिले पनि उस्तै छ ।
दुरुस्तै उस्तै छ।
सगरमाथा पनि उस्तै छ
एउटा सडक र केही बिसौनी चौतारा बनेका छन्
आधार शिविरतिर त्यो पनि रैथानेका हातले कुँदेको
न त्यहाँ गान्धी चस्माभित्रबाट हेर्ने
न त्यहाँ लालुको धोती पहिरने
न त्यहाँ नेहरू बान्कीको कोट भिर्ने शासक पुगेको छ
न त्यहाँ तथाकथित लेलिनलाई र माओलाई पुज्नेहरूले
केही गरेको छ
सगरमाथा उभिएको छ
केही मानिसहरूले विदेशिनु परेको छैन
अरू के भएको छ ?
मदन भोटमा नुन लिन जान छाडेको छैन
ल्हासामा सुन छ कि भनेर धेरै मदनहरू जान छाडेका छैनन्
यता मुनाका दसधारा आँसुहरू पुछिदिने कोही छैनन्
अझ हाम्रा भीमबहादुर देवानहरू उता कार्गिलतिर मरिरहेछन्
अलिकति भारु रुपैयाँ र एउटा ताबिज तक्मा
लट्काएर हामी खुसी हुन्छौँ
र पनि हामी भोट हाल्न एकदिन माया मारेर
घाम चर्को नमानी दिनभर लाम लाग्छौँ
केका लागि होला ?
केका लागि होला ?
प्रश्न अनुत्तरित छ
हो यो प्रश्न अनुत्तरित छ ।
००
सामान्यतः मान्छे
–––––––––––––––
मान्छे आफ्नो पोशाक जाँच्छ
अनुहार जाँच्छ
तर न त ऐना जाँच्छ
न त आफ्नो भित्र जाँच्छ
बानी परिसकेको छ
बाहिर हेर्ने
अझ अर्कालाई हेर्ने ।
उसको रूपसँग
उसको भौतिक वस्तुसँग
दाँज्छ आफूलाई
कहीँ कतै अरू केही नपाएजस्तो
अर्थात् बाँदरले नरिवल पाएजस्तो
के गर्ने आँपमा कोयो पसिसक्यो
अब चिचिला बनाउन सकिन्न
फेरि कलिलो बन्न सकिन्न
निकै समयको कर्णाली बहन्छ
हड्सन, नील र हक्सबरी बहन्छ
र त, ऊ पोशाक हेर्छ
घरको ऐना हेर्दैन
घरभित्र पनि हेर्दैन
दराजमा माऊ पसिसकेको छ
ढोकामा माकुरो झुन्डिसकेको छ ।
घरको भित्तामा बारुलोले घर बनाएको छ
हेरिरहेको ऐनाको पछिल्तिर भित्ति बसेको छ
र उसले लगाएको पोशाकमा झिँगाले पिसाब फेरिसकेको छ
तर ऊ छिमेकी एन्डरसन महोदयको
कोट आफ्नो ऐनामा खोज्छ
अनि टाई वकिल बब साहबको जस्तो
कपाल एन्डरसन महोदयको जस्तो
र चस्मा गान्धी महोदयको जस्तो !
ऐनाले जवाफ दिँदैन
तर ऊ उत्तर पाएझैँ
मख्ख पर्छ ।
बिचरा ! उसलाई आँपमा कोयो पस्छ कि पस्दैन ?
झिँगाले पिसाब फेर्छ कि फेर्दैन ?
र माकुराले बाटो छेक्छ छेक्दैन ? थाहा छैन
किमार्थ थाहा छैन
अहँ बिचरा ! थाहा छैन
ऊ स्वचालित अटोमेटिक घडी
हो अटोमेटिक घडी ।
यता ऐना नाजवाफ
उता वकिल
बब साहब नाजवाफ ।
००
हेडसरले त पढाउनुभएकै हो
––––––––––––––––––
आधा धमिराले निलिसकेको
घरको मूल खाँबो आधा बाँकी छ
त्यो पनि खाँदै छन् धमिराहरू
मर्मत गर्ने वा फेर्ने
खै कसले हो ?
म र महरू टुलुटुलु हेरिरहेका छौँ
कुन दिन ढल्ने हो
हामी फगत रमिते भएर बसेका छौँ
मियो हराएपछि त
गोरुहरू जताततै दौडँदा रहेछन्
हेडसरले त भन्नुभएकै थियोे
“नानीहरू हो मियो लड्न नदिनु
घरको मूल खाँबोमा धमिरा लाग्न नदिनु ।”
केराको पात सानै हावाले दायाँ बायाँ गर्छ
उत्तर दक्षिण गर्छ
पूर्व पश्चिम गर्छ
हामी फगत रमिते भएर हेरिरहन्छौँ ।
धमिराले देवल उठाउँछ
हामी दिउले च्याउ खान उठाउन दिन्छौँ
घरमा आएर खागोले गुँड लाउँछ
हामी मह खान पर्खन्छौँ
बिच्कँदा नानीहरूको बिचल्ली पार्छ
हेडसरले यस्ताहरू जङ्गली हुन्छन्
बिच्केमा बसैँ हिँडाउँछन्
बास बस्न नदिनु नानी हो त भन्नुभएकै थियोे
तर हामीले हेडसरका कुरालाई फगत सुन्यौँ
पालना गरेनौँ
अहिले उसैको राज छ
घरमूली घरबाट बाहिरिएका छन्
हामी फगत रमिता हेरिरहेछौँ ।
हेडसर त भन्नुहुन्थ्यो
"नानीहरू हो सुन्तलाको
राम्रो जगेर्ना गर्नु
ऐँजेरु लाग्न नदिनु
नत्र सुन्तला सकिन्छ
ऐँजेरु झाँगिन्छ
तसर्थ किमार्थ ऐँजेरु जेलिन नदिनु"
सुनियो मात्र हेडसरका कुरा
शिक्षा लिइएन
अहिले ऐँजेरु जेलिँदै गयो
सुन्तलामा उसकै रजाइँ भयो
सुन्तलालाई निल्दै गयो
राज उसैले गर्यो
हामी फगत् रमिते भयौँं
हेडसरलाई सम्झदै रमिते बनेका छौँ
र एकनास सकिनै लागेको सुन्तलाको बोट हेरिरहेका छौँ
केही गर्न नसक्ने नामर्द भएर हेरिरहेका छौँ ।
अमिराकै भङ्गिमामा टेकेर
––––––––––––––––––––––––––––
प्रिय अमिरा ! तिमी सानै छ्यौ
तिमी चिप्लेटी मन पराउँछ्यौ
तिमी पेपापि खेलाउँछ्यौ
रोबोट र हुइँकने ससाना गाडीहरू
ससाना प्लेनहरू,
अनि बेबी ल्यापटपका कार्टुनहरू
नाचेको तिमीलाई उदेक लाग्छ ।
सानो गुडियाको बेबीलाई तिमी निन्नाको हारमोनियम बजाएर
थप्थप्याएर मिठो धुनमा
सुताउने प्रयत्नमा जुटिरहन्छ्यौ जसरी
त्यसरी नै ठुला भनाउँदाहरू पनि यो संसारमा
चेतनालाई सुताउन
चेतनाकै नामको
लोरीको गिटार रगडिरहन्छन्
उनीहरू सुतेकाहरूलाई अरू बढी नै सुताउँछन्
स्लिपिङ् पिल्सहरू
नशाका चक्लेटहरू चटाएर
अरू बढी नै सुताइरहन्छन् ।
उठेकाहरूलाई अरू बढी नै उठाइरहन्छन्
दौडिरहेकाहरूलाई अरू बढी नै दौडाइरहन्छन्
र उठेकाहरूलाई अरू बढी उठाउन थाँक्रो हालिरहन्छन्
थाँक्रो फेरिरहन्छन्
तिम्रो स्लाइडको लिस्नो जस्तै
भ~याङ हाली नै रहन्छन् ।
र ती चढ्नेहरू माथि पुगेर
तल सुतेकाहरूको बजार हेर्छन्
बजार बढाउँछन् नाप्छन् जोख्छन्
अनि बजारमा जेसुकैको बेपार गर्छन्
सुतेका मान्छेहरूको बजार
Comments
Post a Comment