Prose&poems

 कहिलेकाँही विगत कोट्याँउदा। 

--------------------------
मधुपर्क मसिक प्रकाशन हुन्थ्यो र इलामको चोक बजारमा मालापथतिर मोडिने नजिकै तत्कालीन दाहाल होटलको छेउको साझा प्रकाशनको पसलमा पनि पुग्थ्यो बि.सं२०३६ साल तिर।दुर्गाशर्मा भट्टराई किन्न पुग्थे हरेक महिना म पनि उनको पछि लाग्थें।उनले साङ्गोपाँङ्गो पानाहरू छिचोलि सकेपछि
गणेश निरौलाको पढ्ने पालो आँउथ्यो र त्यस पछि म पनि अलि अलि पढ्ने गर्थें ।दुई जना हस्तिहरूको गहन बहस चल्थ्यो र म पनि सुन्थें ।अलिअलि लेख्थें पनि।तर मेरो सिकारु कलमले लेखेको कतै छाप्ने मौका भने पर्दैन थियो । त्यसो त दुर्गा र गणेश निरौलाका छिप्पट कलमले लेखेको पनि तीनताका छापिएको देखिन मैले।राधेश्याम लेकाली विराटनगरबाट कदर साहित्यक मासिक  पत्रिका प्रकाशन गर्दथे।
उनी इलामे भएका कारणले पनि त्यो पत्रिका इलाममा बेला बेला देखा पर्थ्यो।झापाबाट विश्वदिप स्व.मदन ढकालको निस्कन्थ्यो तर त्यो पुर्ण साहित्य भने थिएन। अरू पारी तिरको दियालो पनि आक्लझुक्ल इलाममा झुल्कन्थ्यो।
पत्रिकामा कविता, कथा, निबन्ध लगायत कुनै पनि विधामा छापिनु भनेको तीनताका निकै महत्त्वपूर्ण मानिन्थ्यो उसबेला किनकि छापाखानाहरू विरलै भेटिन्थे। त्यो बेला इलाममा छापाखाना  थिएन।किताब छाप्ने र प्रकाशन गर्नेहरू बनारस पुग्दथिए ।
दुर्गाशर्मा भट्टराई निकै अव्वल थिए नेपाली र अंग्रेजी दुबै साहित्यमा। उनको अध्ययन निकै गहिरो थियो।उनले एकदिन पिटरजे कार्थकको "प्रत्येक ठाउँ प्रत्येक मान्छे "उपन्यास किनेर लगेर हामी सबैलाई पढाएको पनि संझन्छु।मेरो प्रथम उपन्याँस थियो त्यो  पढ्ने क्रममा नेपाली साहित्यको ।यश अघि रानु ,गुलसन नन्दाहरूका
हिन्दी जासुसी हल्का फुल्का मनोरञ्जनात्मक उपन्यासहरू मात्र पढेको थिएँ मैले।
यसपछि नेपाली साहित्यका उपन्यासहरू पढ्न थालियो ।पढ्ने बाढी नै ल्याउने दुर्गा र गणेश निरौलाहरूको संगत खुबलाग्यो मलाई पनि तर म साहित्यमा चाखराख्न चैं विष्णेटारका मेरातत्कालीन प्रधानाध्यापक विष्णु देवान राम्रा कथाहरू लेख्थे र सुनाउँथे उनको त्यो सिर्जनाले ममा पनि अन्तर मनमा विगुल फुकिरहन्थ्यो लेख्न पर्छ। विष्णु देवानको विदाई शिर्षकको कथा ऐले पनि मलाई उत्कृष्ट लगिरहेछ। उनको मेची पारीको नेपालतिरका साथीहरूसँग चिनाजाना भएकाले उतैका पत्रिकामा प्रकाशन भएकि? ती कथाहरू , म ठान्छु ।उत्कृष्ट लेख्थे देवान कथाहरू ।उनी रसियन साहित्यका पुस्तक र चिनी साहित्यका अनुबाद साहित्यहरू पढ्थे।चिनको रेडियो सुन्थे र तत्कालीन नेपालको कम्युनिस्ट राजनीती कोअर्डिनेट केन्द्रको सदस्य थिए।उनले नै मलाई पनि कम्युनिस्ट राजनीतिको बोध गराएका थिए।उनीसँग मेरो २०३४वैशाखबाट२०३५को जेठसम्म मानबहादुर मगर (जन्तरे मुखियाकोमा)सँगै बसाइ हुँदा नामले नभए पनि नेपालका ऐलेका ठूलाठूला कामरेडहरूसँग चिनाजाना भएको थियोे ।उनीहरू भुमिगत हुन्थिए र नाम छद्धम हुन्थ्यो ।रत्न कुमार वान्तवा, नरेश खरेल ,पदम भण्डारी,लगायत आकलझुकल झलनाथ खनाल अशोक राई पछि विाह भएकी उनकी श्रीमती नाम शुसिलाश्रेष्ठ  हो कि विर्सें र अरूहरू पनि देवानसँग भेट्ने गर्दथे।तसर्थ पनि देवानको साहित्य म ऐले संझन्छु निक्कै माथिल्लो स्तरको थियो ।तत्कालीन कामरेडहरूको स्वाध्ययन निकै गहिरो थियो ।ऐलेका डोनहरू जस्तो होइन।
एमालेका माथिल्लो स्तरका नेताहरू हुन् वा कार्कर्ता अध्ययनको क्रममा अव्वल नै हुन् तर माअोवादीहरू चैं माथिदेखि तलैसम्म भुस्तिघ्रे मात्रै रहेछन्।किन जुटे दैव जानुन्।

जे होस नामसालिङ् हाई स्कुल र गुरु हेडसर नरहरी शर्माले साहित्यमा बामे सर्न सिकाएको अलिअलि हिंड्न विष्णु देवानले र पछि दुर्गाहरूले दौडन सिकाएको विगतलाई भुलिहाल्न सक्दिन म।
न मोबाइल थियोे न कुनै गुगल।तीनताका।
लेख्नु र थन्क्याउनु यस्तै थियोे ।पछि काठमान्डु पसियो।पिपलबोट धाइयो।ठुला र नाम चलेका डा.तारनाथ शर्माको डेरा बानेश्वर पुगेर चिनाजाना गरेपछि वहाँले पातालप्रवास आफ्नै हातका सुन्दर अक्षरले "स्नेही भाइ उदयलाई" भनेर लेखेर दिँदा दुई फुट माथि उठेको अनुभुत गरेको संझन्छु म।पुस्तक बहुत शुरक्षित राखेको छु मैले।
२०४०सालमा साझा प्रकाशनको कार्यालयमा कवि विष्णु विभु घिमिरेलाई भेटें वहाँ गरिमा प्रकाशन गर्ने त्यो पत्रिकाको प्रथम सम्पादक हुनुहुन्थ्यो ।२०३९पौषबाट साझा प्रकाशनले त्यो साहित्यिक मासिक प्रकाशन थालेपछि  मधुपर्क पछि यो दोस्रो सरकारी क्षेत्रको साहित्यक मासिक पत्रिका भएको थियोे । साझाप्रकाशनमै मैले अब्बल कवि तथा गितकार क्षेत्र प्रताप अधिकारी र समालोचक कृष्ण चन्द्र प्रधानसँग चिनजान गर्ने अवशर पाँए।साझाको कार्यालय र मेरो जागिरे मन्त्रालय नजिकै भएकोले पनि म गरिमाको कार्यालयमा पुगिरहन सजिलो भएको थियोे ।मैले त्यहीँ कथाकार जैनेन्द्र जीवन  कवि कृष्ण प्रसाईं लगायत धेरै साहित्यकारहरूसँग चिनजान गर्ने मौका पाएको थिएँ।
२०४१सालको सायद आषाढको अंकमा मेरो गरिमा पत्रिकामा कविता छापिएर आँउदा जीवनमा सारै धेरै खुशी भएको संझन्छु म।त्यति खुशी लोकसेवा पास गरेर जागिरेहुँदा पनि भइन म।पाटन क्याम्पस स्नातक अध्ययनका क्रममा  कक्षाका सहपाठी मित्रहरू गंगा तुलाधर ,किसोर जंग कार्की , चेत बहादुर कार्की , अशोक थापा लगायतका  धेरै साथीहरूले त्यतिबेलानै मलाई राष्ट्रिय स्तरको साहित्यकार तपाईं उदयजी भनेर मान्दथिए।पारीजात दिदी हरेक क्याम्पसका कार्यक्रममा आईरहनु हुन्थ्यो ।गंगा तुलाधार वहाँलाई आमन्त्रण गरिरहन्थिए।गोविन्द नेपाल, देबी प्रसाद अर्याल र राममणी रिसाल जस्ता मुर्धन्यँ प्राध्यापकले नेपाली साहित्य पढाउँ थिए हामीहरूलाई।पछि डिल्ली बजारमा एमपिए पड्दा ऐलेका चर्चित कवि तथा गायक विजय सुब्बा क्लासमेट थिए यसरी साहित्यले मलाई पछ्याउँदै आएको भाग्यमानी महसुस गर्छु म।
पछि मेरो कार्यालय सरूवा भएर मीन भवन पुगें म। यसपछि गरिमाको कार्यालय जानेक्रम पातलो भयो र नयाँ सडक पुग्ने क्रम बाक्लो बन्दै गयो। मैले त्यो पिपलबोटमा धेरै साहित्यकारहरूसँग परिचय गर्ने अवशर पाएँ।कवि शैलेन्द्र शाकारसँग मलाई रधेश्याम लेकालीले चिन्हाएका थिए।वहाँ सरल मान्छे ।यसपछि मैले ऐले स्वर्गीय भैसकेका जनमन्च साप्ताहिकका सहायक सम्पादक मित्रलाल वालकले मलाई कवि हरी अधिकारी र शिव अधिकारीसँग अनि तत्कालीन चर्चित पत्रकार पदम ठकुराठीसँग चिनाजाना गराएका थिए।
यस्तै क्रममा अलि पछि स्वर्गीय मित्र नकुल सिलवालसँग भेट भयो ।मेरो कार्यालय भएर उनी डेरालाग्ने वा काममा निस्कने गर्थिए।यसपछि धेरैसँग चिनजान भयो ती मध्ये ललिजन रावल ऐले पनि म सँग निकट नै छन् अर्थात हामी सँगै नै छौं।

लेख्न त कवि ,कथाकार ठूलै उपन्यासकार पनि वा अरू जुनसुकै विधाका लेखक सर्जक किननहुन् प्रथमत श्वान्त सुखायकै लागि लेख्ने हन् तर अलि माझिएपछि भने समाज ,राष्ट्र र अन्तरास्ट्रिय जगतकालागि एवं समग्र मानवजाततीका लागि लेख्छन् भन्ने मेरो बुझाइ छ।नहुन पनि सक्छ यो मेरो सोच हो।नेपाली साहित्यका मुर्धन्य
श्रष्टाहरूका सिर्जनाको  पनि अन्तरास्ट्रिय जगतमा वर्तमासम्म पनि पहुँच नहुनुमा प्रकाशन र अनुबाद कै कारण हो भन्ने मलाई लाग्छ।

लेखनमा  अतितकै पाटो र पखेरो हिडिँरहन  मनपर्नुको कारण त अन्वेषण गर्न, पर्घेल्न सकेको छैन मैले तर पनि ती घर्षणहरू  र दवावहरू अनि भविष्यले आविष्कार गर्ने सुनौला कल्पनाहरू बडो अविस्मरणीय रहँदोरहेछ जीवनको उकाली ओरालीहरूमा। ती र त्यस्तै साँझ विहानहरू यो तुवाँलो ग्रस्त वर्तमानमा चिहाउन मन गरिरहन्छ रहर।सामुद्रिक छालहरू झैं संवेगका संवेदनशील रहरहरूको कहिले अकारणै मृत्यु भएका क्षणहरू, कहिलेकाँही अनायासै बम्पर थाम्न नसकेका डँडाल्ना र पिठ्युँको यादले सायद उन्मादित बन्छ होला मान्छेको जिजीवषा जीवनको यात्रामा भन्ने ठान्छु म। र त अनवरत मान्छे उत्खनन् गरिरहन्छ मनको पर्त पर्तमा पसेर, छिरेर र उधिनेर नयाँ विहान वा पुरानो साँझ। गहिरो जान्छ अनुभुतीको खाडल र भेटिहाल्न पनि सक्छ खजाना ,नपाउनँ र नपाइकन पनि रमाउन सक्छ मानिसको महत्ताकँक्षा भन्ने ठान्छु म।नहुन पनि सक्छ , नमिल्न पनि सक्छ सबै मिल्यो भने त जीवनमा  केही न केही बाँकी बक्यौता हुनुको आनन्दको रमाइलोबाट बञ्चित हुन्छ मान्छे ,अधुरै रहनेछ मान्छे जस्तो लागिदिन्छ मलाई ।फगत् मलाई । ए म त हराँएछु ।म भन्दै थिएँ ती पुराना साहित्यकारहरू र समकालीन अनि नयाँहरूसँगको भेटाघाटा र समग्रमा अनुभुतीहरू।

अँ चिनाजाना त उनीहरूका सिर्जनाहरूले नगराएको होइन यद्यपि सामिप्यता अरू मजाको हुने।यस्तै  क्रममा नयाँ सडकका साहित्यका बुटपालिस आन्दोलनका अगुवा दाइ कवि कथाकार शैलेन्द्र साकारसँग जब म २०४४देखि नजिकिन थालेँ तब वहाँको बालसुलभ सरलता अौधि नै मनपर्न थाल्यो ।एकसाँझ साहित्यकार भन्दा पनि बढी  नै साहित्यका सिकारूहरूका प्रोमोटर , अभियन्ता र कुशल संयोजक लेकाली र अर्को नाम भुलें मैले कहीं बसौं भनेर पुतली सडकबाट दरवरमार्ग ,लैनचौर हुँदै लेकालीले पानीपोखरी नजिकैको डिलभन्दातलसम्म ती सरल मान्छेलाई हिँडाएको र राती अवेरसम्म साहित्यका गफगाफमा अल्झिएर  पुतलीसडकको लेकालीको डेरामा लेकालीलाई छाडेर हामी दुई भक्तपुर हानिएको याद पनि आँउछ।सर्जकलाई पढेर पाठकले लगाएको एउटा ऐनाको विम्ब सर्जकलाई भेट्दा मेटिने संभावना बलियो रहन्छ र उप्रान्त अर्को ऐना र अर्को विम्ब पनि तयारहुन सक्छ भन्ने धारणाको पाटोमा म पुगेको त्यो अतीत बढो गजवको लाग्छ मलाई।
साकारका कविताहरू नेपाली साहित्यमा अलग मूल्य र मान्यता कायमगर्न सक्षम छन् भन्ने मेरो अठोट हो । त्यसरी नजिकैबाट मैले छामेका साकारसँग ऐलेसम्म पनि म मेरो  श्रद्धाका गोजीमा खामेर राखेको छु। ऐलेसम्म पनि हाँम्रो भेटघाट  हुदैरहन्छ एककप चियाका साथमा।

यस्तै मोहन कोईरालदाईसँग पनि पिपलबोटकै पश्चिमी किनारामा भेटें मैले फर्सीको जराजस्ता चाम्रा पाईन  उनलाई निकटमा नरम र कमै बोल्ने लज्जालु स्वभावका मोहनदाई बढ्तै भावुक र दार्शनिक बान्कीका लाग्थ्ये मलाई चैं।अरूलाई नलाग्न सक्छ।कवितामा छुट्टै सडककोर्ने मोहनदाई स्नेही र स्निग्ध लाग्थे मलाई चैं। उनलाई गाली गर्नेहरूको जमात ठूलै हो क्लिस्ट र अस्पस्ट कवि भनेर।सरलताभित्रका जटिल कवि हुन् मोहन कोईराला ।तीनताका ऐले जस्तो साहित्यमा गुटबन्दी र जमातहरू थिएनन् पंञ्चायतको विरोध र स्तुति गाउनेहरू पनि एउटै पिपलकोरूख मुनि ओतिएका थिए।वामपन्थी राजनीतिको छेछाउमा उभिएका हुन् वा दक्षिणी किनारातिरका हुन् ऐले जस्तो पँधेरो बाबारको अवस्था थिएन।यस्तै  पुराना सर्जकहरूको सम्मान पनि सबैले र सबै पक्षकाले गर्दथिए।
वर्तमान जस्तो भुँई फुट्टा थिएन उबेला साहित्यमा कोही ।  ब्यक्तिबादी पनि थिएन साहित्य ।अँग्रेजीका र नेपाली साहित्यका उत्तिकै विद्वान अनि देश विदेश सबै हेरेका डा.तारानथहरू पनि थिए तर सरल थिए बोलाए पछि बोल्ने।तुलसी दिवश र बाशु शशी अनि कृष्ण भक्त र मोहन रेग्मीहरू , विमल कोईराला र मिनबहादुर विस्ट जस्ता विद्वानहरू पनि थिए तर अंहकारले उन्मत्त भएका भ्रस्टाचारको रूपैयाँले रन्थनिएकाहरू थिएनन् उबेला।  अनि गुटले साहित्यकार भएकाहरू जमातले ऐँऐँ गर्दै उभ्याएका रोगीहरू पनि थिएनन् उ बेला साहित्यमा ।साहित्य निरोगि थियो ।कुनै विदेशी भाइरस पसेको  अवस्था पनि थिएन नेपाली साहित्यमा ।बर्तमान साहित्यमा पनि अनेकन ऐँजेरुहरू जेलिएको देख्दा साहित्यले फस्टाउन रफक्रन र फुल्न पनि समय लाग्नेछ ।क्रमश



Comments

Popular posts from this blog