कविता
म लेख्छु कविता
-------------

म लेख्छु
कविता लेख्छु
यद्यपि देख्तिन कविता
यदि देखेर लेख्ने हो भने त !
सायद धेरै राम्रो हुन्थ्यो होला
धेरै सुन्दर हुन्थ्यो होला।

देखेर म कसैसित प्रेम गर्छु
कवितालाई जस्तै
यद्यपि छुएर गर्दिन
सायद छोएर गरिन्थ्यो भने त!
निकै नै भद्दा हुन्थ्यो होला।

देखेर फूलसित खेल्छु म
सायद टिपेर खेल्थेँ भनेत!
फूलको सौर्न्दर्य हराँउथ्यो होला
म म नरहेर म सायद मेटिन्थ्यो होला।
म सायद हराँउथ्यो होला!

कति बस्तु यस्ता छन् छुनै नसकिने
छोएमा फेरि फेरि भेट्न कठिनहुने
कति बस्तु यस्ता छन्
सायद हेरेर मात्र कमै हुने
छामेर धेरै सुन्दर हुने
यद्यपि छुन कहाँ सकिन्छ र खुशीलाई
छुन कहाँ सकिन्छ र आनन्दलाई
अनि मानिसलाई जस्तो भेट्न
कहाँ सकिन्छ र?कवितालाई।

म लेख्छु
कविता लेख्छु
न भेट्न सक्छु
न छाम्न सक्छु।

यद्यपि पनि म लेख्छु
कतै छोएर लेख्छु
कतै बिझेर लेख्छु
कतै बिर्सेर लेख्छु
कतै संझेर लेख्छु।

Comments

Popular posts from this blog

Prose&poems